तनहूँ डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा
Published Date: 2012-06-17 •
दमौली, असार ३
तनहूँ जिल्लालाई आज एक कार्यक्रम गरी डाइक्लोफेनाक मुक्त जिल्ला घोषणा गरियो । घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद पौडेल, जिल्ला वन कार्यालयका प्रमुख श्री बाबुराम पौडेल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्री डण्डपाणी खनाल, जिल्ला पशु सेवा कार्यालय तनहूँका प्रमुख श्री बाबुराम जमरकट्टेल, पत्रकारहरु लगायत अन्य सरोकारवालाहरुले हस्ताक्षर गरी यस अभियानलाई सहयोगको प्रतिवद्धता जनाए ।
मरेको जनावरको सिनो खाई त्यसवाट फैलने विभिन्न रोगहरुवाट बचाउने र पर्यावरण सन्तुलन राख्न महत्वपूर्ण भूमिका खोल्ने गिद्ध लोपोन्मुख हुनुको मुख्य कारण पशुहरुमा दुखाई कम गर्न प्रयोग हुने औषधी डाईक्लोफेनाक भएकोले मुक्त गर्नु परेको हो । डाईक्लोफेनाकको प्रयोग गरेको जनावरको सिनो खाएका गिद्धको मृगौला फेल भएर मर्ने गरेको अनुसन्धानवाट पत्ता लागेपछि जनावरहरुमा डाईक्लोफेनाक औषधीको प्रयोगमा प्रतिवन्ध लगाईएको हो । डाइक्लोफेनाक औषधीको सट्टामा मेलोक्सिक्याम प्रयोग गर्न सकिन्छ जुन गिद्धको लागि सुरक्षित छ ।
